एमाले अधिवेशनः महोत्तरीमा तयारी शून्य, नेतृत्व चयन प्रक्रियामा मतभेद

नेकपा एमाले महोत्तरी अधिवेशन ५ र ६ माघमा गर्ने भनिए पनि हालसम्म कुनै तयारी गरेको देखिँदैन । केन्द्रीय माहाअधिवेशनमा सर्वसम्मतीको नाममा विवादित ढंगवाट पदाधिकारी तथा प्रतिनिधि  चयन गरेकाले जिल्लामा पनि सोही कार्य दोहोरिने हो कि भन्ने अधिवेशन प्रतिनिधिहरूले आंशका व्यक्त गर्न थालेका छन् ।

चितवनमा सम्पन्न १०औँ महाअधिवेशनमा पार्टीमा लामो समयसम्म योगदान पु-याएका नेताहरूलाइ समेत नसमेटेको  भन्दै आलोचना भइरहेका बेला महोत्तरीमा हालसम्म अधिवेशनको तयारी नगरिनुले थप सशंकित बनाएको नेतारू बताउँछन् ।

१०औँ महाधिवेशनले पनि गुटबन्दी अन्त्य गर्न नसक्दा त्यसको असर जिल्लामा देखिएको छ ।  आरोप र प्रत्यारोपका बीचमा नै एकथरी नेताहरूले सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् भने अर्काथरी निर्वाचन गराउनुपर्नेमा अडान दिएका छन ।

माओवादीबाट आएकासहितका नेताहरूले अहिले पनि सहमतिमा नै जोड दिनुपर्ने अडान लिँदै आएका छन् ।  ‘अन्तिम विकल्पको रुपमा मात्र निर्वाचनलाई आत्मासाथ गर्नुपर्छ,’ केन्द्रीय सदस्य तथा एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकी बताउँछन् ।

तर, सहमतिले क्षेत्रीय माहाअधिवेशन प्रतिनिधिमा समेत पार्टीभित्र गुट सिर्जना भएको भन्दै निर्वाचन नै पहिलो विकल्प हुने सीताराम झालगायतका नेताहरूको अडान छ ।

१०औँ माहाअधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी, रामदयाल मण्डल जिल्लाको नेतृत्व लिनबाट पछि हटेका छ्न । वरीयताका क्रममा पनि जिल्लास्थित नेताहरूलाई अवसर दिनुपर्ने नेताहरूको भनाइ छ ।

अधिवेशन हुन अझै १५ दिन बाँकी रहँदै संयोजक, इन्चार्जको लागि आकांक्षीहरू निकै देखिएका छन् ।  आकांक्षीहरूले उम्मेदवार औपचारिकरुपमा घोषणा नगरे पनि नेता, कार्याकर्ताहरूसँग लविङ सुरु गरिसकेका छन ।

महोत्तरीमा सक्रिय सदस्यहरूको संख्या १७ हजार पुगेको नेताहरूको दावी छ । संख्यात्मक आधारमा पूर्वनिर्णयअनुसार नै  चारवटै निर्वाचन क्षेत्रवाट जिल्ला प्रतिनिधि तोक्ने नेकपा एमालेको तयारी छ । तर, तयारीमा देखिएको सुस्तताले जिल्लामा निर्धारण गरिएको ५ र ६ माघको अधिवेशन सफल होला कि नहोला भन्नेमा कार्याकर्ताहरूमा अझै दुविधा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार