बैतडीमा खसी चोरको बिगबिगी

बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयाे । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएकाे अज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए । उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’

दुई वटा खसीकाे मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । यसअघि पनि गाउँमा पटक पटक खसी चाेरी भएकाे उनले बताए । उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चाेरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । चाेरी राेक्न प्रहरी प्रशासन चनाखो हुनु पर्याे । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्याे ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ ।

गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गाेठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी काटेर लगेकाे अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए । पछि गाेठमा आधा मात्रै खसी भेटिएको उनले बताए ।

यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेकाे स्थानीय देवराम लोहारले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार