कोरोनाविरुद्धको अतिरिक्त खाेप अभियान कार्यक्रम स्थगित

सरकारले आज (मंगलबार) देखि सञ्चालन गर्ने भनेको कोरोनाविरुद्धको अतिरिक्त खोप अभियान कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सुचना जारी गर्दै लक्षित वर्गका लागि दिने भनिएको थप मात्रा कार्यक्रम स्थगित भएको जनाएको छ ।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ, ‘त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ ।’

सरकारले यसअघि कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने निर्णय गरेको थियो ।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित,अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथिका व्यक्तिले अतिरिक्त खोप मात्रा पाउने भनिएको छ ।

सरकारले चैतसम्म लक्षित जनसंख्यालाई खोप लगाइसक्ने बताएपछि ओमिक्रोन भेरियन्टको कारणले सरकारलाई चुनौति थपिएको छ ।

Loading...