ललिता निवास प्रकरणका नाइके शोभाकान्त ढकालविरुद्ध राजस्व छलीको पनि मुद्दा

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणका नाइके अभियुक्त शोभाकान्त ढकालविरुद्ध राजस्व छलीको मुद्दा पनि दर्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले ढकालको कम्पनी आनसान इन्टरनेशनल र सो को लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीविरुद्ध उच्च अदालत पाटनमा आज (मंगलबार) मुद्दा दायर गरेको हो ।

ढकाल सञ्चालक रहेको फर्म आनसानले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूटा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार शून्य भएको देखाइ कर नतिरी राजस्व चुहावट गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, र सान्टु श्रेष्ठ सञ्चालक रहेको आनसान इन्टरनेशनल कम्पनीले मूल्य अभिवृद्धि कर, आयकर र लाभांश छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

ढकालसहित पाँच जनाविरुद्ध विभागले १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद दायर गरेको छ ।

उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरिएको छ ।

यस्तै, लेखा परीक्षण फर्म राजेश्वर एण्ड कम्पनीलाई मतियार ठहर गरी आधा सजाय मागदाबी गरिएको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा ढकाल हाल थुनामा रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार