क्यानले हटाउँदा दुःख लाग्यो, तर म सधैंभरि कप्तान बन्नुपर्छ भन्ने छैन : ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैंभरि नेतृत्वमा रहनुपर्छ भन्ने नभएको बताएका छन् । मंगलबार टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी मल्लले सञ्चारकर्मीहरुसँग बोल्दै आफू सधैंभरि कप्तान बन्न भनेर नआएको र हुनुपर्छ भन्ने पनि नभएको बताएका हुन् ।

सुरुमा नेपाल क्रिकेट संघ (क्यान)ले विना कारण कप्तानबाट हटाउँदा अलिकति दुःख लागेपनि देशका लागि खेल्नु नै आफ्नो मुख्य उद्देश्य भएको उनको भनाई थियो ।

‘सुरुमा बिनाकारण र जानकारी कप्तानबाट हटाइँदा अलिअलि दुःख लाग्यो । अलि गाह्रो भएको थियो ।’ उनले भने, ‘यत्रो वर्ष क्रिकेटलाई दिए । विना कारण त्यसो गर्दा व्यक्तिगत रुपमा केहि समय गाह्रो भएको थियो । तर, म सधैंभरि कप्तान बन्न भनेर आएको होइन । हुनुपर्छ भन्ने पनि होइन । म देशको लागि खेल्छु । मेरो लागि खेल्छु र परिवारको लागि खेल्छु । त्यो नै मेरो लक्ष्य हो ।’

२९ मंसिरमा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोपमा निवर्तमान कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त र दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना २०२२ को सेन्ट्रल कन्ट्रयाक (केन्द्रीय सम्झौता) मा नराख्ने निर्णय लिएको थियो । यस्तै क्यानले नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

त्यसपछि विवाद सतहमा आएसँगै चार खेलाडीलाई समर्थन गर्दै अन्य खेलाडीले समेत आगामी आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको लागि मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बाेलाएकाे क्रिकेट प्रशिक्षणमा नफर्कने बताएका थिए । तर, क्यान र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि क्रिकेटमा देखिएको विवाद तत्काललाई समाधान भएको छ । मंगलबार प्रशिक्षणमा २८ जना उपस्थित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार