राष्ट्रियसभा निर्वाचन : काँग्रेस, एकीकृत समाजवादी र एमालेले टुङ्गाए उम्मेदवारको नाम

एमालेका १९ उम्मेदवार

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले उम्मेदवारको नाम टुंगो लगाएका छन् । आज बसेका बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायणदत्त मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा रिक्त पदको निर्वाचनका लागि १९ जनाको नाम टुङ्गाएको छ । निर्वाचनका लागि ​प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु), प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ विना साह (रौतहट) वाग्मती प्रदेशमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकी प्रदेशबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) लाई उम्मेदवार तोकेको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) कर्णाली प्रदेशमा खुलातर्फ चुडामणि शर्मा (सुर्खेत), महिलातर्फ गङ्गा थापा महत (जुम्ला) र अल्पसङ्ख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश विक (बैतडी) लाई बनाइने भएको छ ।

यस्तै नेकपा एसले प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सदूरपश्चिमबाट मदनकुमारी (गरिमा)  शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदावधि छ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ । उक्त निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार