सरकारले क-कसलाई दिने छ बुस्टर डोज ?

सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रुपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।

कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् ।

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको उनले बताएका छन् ।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामीले अतिरिक्त डोज पाउने छन् ।

उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिलाई पनि सरकारले अतिरिक्त खोप लगाउने निर्णय गरेको छ ।

लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थय संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार