टुंगियाे राष्ट्रिय सभाको भागबन्डा : कुन दललाई कति सिट ?

सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको छ । सोमबार बिहान  । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका हुन् ।

उच्च स्रोतका अनुसार  सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा ६ सिट, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५ सिट, जसपाले २ सिट  र जनमोर्चाले १ सिट पाउने भएका छन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।  राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते (मंगलबार)उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको थियो ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालसहित २० सदस्यको पद कार्यकाल सकिन लागेको हो । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् ।

नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् । २०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो । त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो ।

पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् । दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् ।

एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई चार वर्षको अवधि पूरा गरेर विदा हुँदैछन् ।

यस्तै माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक पनि फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा चार जनाले नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

यस्तै, नेपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे पदमुक्त हुँदैछन् । साथै अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार