माओवादीको नवनिर्वाचित केन्द्रीय समितिकाे बैठक आज, पदाधिकारी चयन गर्ने

पदाधिकारी चयनमा प्रचण्डलाई सकस

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । हेरिटेज प्लाजा सानेपामा सोमबार अपराह्न ३ बजे नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।

बैठकले  १५ सदस्यीय पदाधिकारी चयन गर्ने जनाइएको छ । विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने छन् ।

माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की  छ । वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ जसमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा आइतबार सम्पन्न आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलको ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो ।

घोषणा गरिएका १४५ खुल्ला केन्द्रीय सदस्यमध्ये १११ को विवरण प्राप्त भएको छ । त्यसमा बाँकी रहेका ३४ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ ।  यस्तै, विभिन्न जाती, क्षेत्र तथा समुदायका तर्फबाट अर्थात् समानुपातिक तर्फबाट १२५ को नाम घोषणा गरिएको छ । समानुपातिकतर्फ २९ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने विधानले व्यवस्था गरेको छ । अध्यक्ष प्रचण्ड पदाधिकारी चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन्। सोमबार बिहानैदेखि उनले आफूनिकट नेताहरुसँग द्विपक्षीय र बहुपक्षीय छलफल जारी राखेका छन्। अध्यक्षमा निर्विकल्प देखिएका प्रचण्डलाई महासचिव छान्न सकस परेको छ। महासचिवका आकांक्षीहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतले लविङ तीब्र पारेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार