सत्ता गठबन्धनको बैठक बस्दै

आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुने जनाइएको छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।  राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते (मंगलबार)उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको थियो ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालसहित २० सदस्यको पद कार्यकाल सकिन लागेको हो । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् ।

नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् । २०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो । त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो ।

पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् । दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् ।

एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई चार वर्षको अवधि पूरा गरेर विदा हुँदैछन् ।

यस्तै माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक पनि फागुन २० गतेदेखि पदमुक्त हुँदैछन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदैछन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा चार जनाले नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

यस्तै, नेपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे पदमुक्त हुँदैछन् । साथै अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार