एमालेलाई अधिवेशनको चटारो, बैतडी अध्यक्षमा दुई जनाकाे दाबी

नेकपा एमालेको ८औँ जिल्ला अधिवेशनको चटारो चलेको छ । यहि २३ पुसमा जिल्ला अधिवेशनको मिति तय भएसँगै बैतडीमा अधिवेशनको तयारी सुरु भएको छ ।

अधिवेशन जिल्लाकै मध्य भुभाग पाटनमा गर्ने तय भएको छ । पाटन नगरपालिका-६ को पाटन बजारस्थित खुला मञ्चमा बिहान ११ बजे उद्घाटन सत्र हुनेछ भने नगरपालिकाको सभाहलमा बन्द सत्र हुनेछ ।

अधिवेशनको तयारी स्वरुप कामहरू अघि बढाइएको एमाले बैतडीले जनाएको छ ।  अहिले बैतडीमा एमालेका दुई जनाले अध्यक्षमा दाबी गरेका छन् । वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष रहेका गोरख बहादुर चन्दले जिल्ला कमिटी अध्यक्षका लागि आआफ्नो दाबी रहेको बताएका छन् ।

नेकपा एमाले बैतडीको जिल्ला कमिटी चयनका लागि सबै स्थानिय तहबाट गरि ५०९ प्रतिनिधिहरूले मतदान गर्नेछन् । पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले भने, ‘सबै स्थानीय तहबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । जिल्लाको नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना बलियो छ ।’

एमालेको सातौँ अधिवेशनमा भने चुनाव भएको थियो । जिल्ला कमिटिका लागि मतदान गर्न हरेक स्थानीय तहबाट १०० संगठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ । यसैगरी दलित संगठित सदस्यहरूबाट पनि १०० बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ ।

बैतडीमा हाल एमालेका नाै हजार ७४५जना संगठित सदस्य रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार