माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन, मतदान भोलि बिहान ८ बजेदेखि

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ । नयाँ केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारी टीम सर्वसम्मत बनाउने प्रयासस्वरुप माओवादी स्थायी कमिटी बैठक जारी रहँदा निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको हो ।

माओवादीले शनिबार राति ८ बजेदेखि तय गरिएको निर्वाचन कार्यतालिकालाई आइतवार २ बजेसम्मका लागि संशोधन गरेर सारेकाे थियो । त्यसपछि अहिले सहमतिका लागि भन्दै निर्वाचन कार्यतालिकालाई पुनः २ घण्टा पर सारेर दिउँसो ४ बजेका लागि तोकिएको छ ।

संशोधित कार्यतालिकाअनुसार आइतबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ भने ६ः३० मा उम्मेदवारको मनोनयन दर्ता सूची प्रकाशन गरिने छ।  साँझ ७ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजूरी दिन सकिने छ।

त्यसैगरी उम्मेदवारको नामावली पुनः प्रकाशन ८ बजे गरिने छ भने ८ः३०  बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ। ८ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। त्यसपछि मतदान भने सोमबार बिहान ८ः०० बजेदेखि दिउँसो १ः२५ सम्म हुने बताइएकाे छ ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार