जावलाखेलमाथि थ्री स्टारको जित

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले जित हात पारेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा  थ्री स्टारले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।

थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले समान एकएक गोल गरेका थिए भने जावलाखेलका लागि निकोलस फर्नान्डेजले एक गोल फर्काएका थिए ।

सातौँ मिनेटमा आयुषले थ्रि स्टारको लागि गोल खाता खोलेका थिए । आयुषले संजोग राईको पासलाई जाली चुमाएका थिए । फ्रेन्डसविरुद्ध मिडफिल्डर मिक्चेन तामाङले गरेको गोलपछि थ्री स्टारका खेलाडीले बललाई पोस्टको दिशा दिएको यो नै पहिलो पटक थियो ।

२५औँ मिनेटमा संजोगकै पासमा ऋतिकले गोल गर्दै थ्रि स्टारको अग्रता दोब्बर पारेका थिए ।  ५५औं मिनेटमा फर्नान्डेजले गोल गर्दै जावालखेलाई फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन ।

पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्रि स्टारले दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई नतिजा सुम्पिएको थियो । थ्रि स्टार तेस्रो खेलमा फ्रेन्डस क्लब, चौथो खेलमा एपीएफ, त्रिभुवन आर्मी क्लब र एनआरटीसँग अंक बाँडेको थियो ।

जितसँगै थ्री स्टार अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । थ्री स्टारले ७ खेलमा १०अंक जोडेको छ । एनआरटीको पनि समान अंक रहेपनि गोलसंख्याका आधारमा छैटौँ स्थानमा छ । पराजित जावलाखेल ७ अंकसहित नवौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार