हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।

चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उनका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका थिए ।

वडाध्यक्ष शेर्पाका अनुसार अत्यधिक हिमपातपछि हिउँ पहिरोमा परेका उनीहरु ओढार भेटेर त्यहीँ बसेका थिए । हिउँमा फसेका शेर्पाले शनिबार बिहान फोन गरेर हेलिकप्टर पठाइदिन आग्रह गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

उनीहरुको उद्धारका लागि शुक्रबार प्रहरी र स्थानीय बासिन्दा सो क्षेत्रमा गएका थिए तर बाक्लो हिमपातका कारण स्थानीय बीच बाटोबाट नै फर्किएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार