बिहीबार २४१ सङ्क्रमित थपिँदा मृत्यु हुनेको सङ्ख्या शून्य

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको उल्लेख गरिएको छ । हिजो (बुधबार) भने सङ्क्रमणबाट दुई जनाको निधन भएको थियो ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९० जनाको निधन भइसकेको छ । बुलेटिनमा पछिल्लो २४ घण्टामा आठ हजार ८९७ जनामा कोरोना परीक्षण गर्दा २४१ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८७१ पुगेको छ । पछिल्लो समय थप २२८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

यससँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ७४६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा चार हजार ६३४, संस्थागत आइसोलेशनमा २३७, आइसीयूमा ८४ र भेन्टिलेटरमा २३ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो समय ५६ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ३९ लाख ७१ हजार ६६८ जनाले र पूर्ण मात्रा एक करोड तीन लाख १० हजार ६९२ जनाले खोप लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार