काठमाडौंको नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार गर्ने ९ जना नै पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

उनका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालार्ई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिए ।

उनका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन् । उनीहरुले एक गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीले युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस र अर्का दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Loading...