वर्षासँगैको चिसोले शैक्षिक संस्था दुई दिन बन्द

हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्दको निर्णय गरेको हो ।

उपमहानगरपालिकाद्वारा बुधबार जारी सूचनामा उपमहानगरअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गर्न आह्वान गरिएको छ ।

यसैबीच वर्षाका कारण बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला पनि स्थगित भएको छ । वर्षा लगातार भएकाले बुधबार दिनभर कुनै कार्यक्रम नगरी मेला स्थगित गरिएको र अव वर्षा रोकिएपछि मात्रै मेला पूर्ववतरुपमा सञ्चालन हुने व्यापार मेलाका संयोजक गोविन्दप्रसाद गैरेले जानकारी दिए ।

एक दिन मेला रोकिँदा करिब तीन करोड बराबरको आर्थिक नोक्सानी हुने उनले बताए । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने नाराका साथ यही पुस ८ गतेदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सञ्चालन भइरहेको छ । व्यापार मेला पुस २० गतेसम्म चल्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार