प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान प्रभावित भएको छ । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो ।

पानी परिरहेकाले भिजिबिलिटी कम हुँदा विमानस्थलमा उडान प्रभावित भएको छ । मौसम खराबीले दुबैतर्फका उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।

डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् । विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

धेरै स्थानमा वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार