हिमपातले राजमार्ग अवरुद्ध

डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ ।

मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताएका छन् । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।

बैतडीमा भारी हिमपात

बैतडी र दार्चुलामा गए रातिदेखि हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड र देहिमाडौँ तथा दार्चुलाको ब्याश, राप्ला, घुसा र खण्डेश्वरीमा हिमपात भएको छ ।

हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्ग अवरुद्ध छ । बाजपानी, ढोल्यामोड, खोडपे क्षेत्रमा परेको हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारीसाधन चल्न नसकेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, “अझै हिउँ पर्ने क्रम जारी छ, यातायातका साधन चल्न सकेका छैनन् ।”

हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । यस वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
–––

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार