नेपाली महिला टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको फाइनल खेलमा उज्वेकिस्तानमाथि ३-२ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा २६-२४ को जित निकालेको नेपालले दोस्रो सेट २४-२६ मै गुमाएको थियो । तेस्रो सेटमा भने नेपालले २५-१५ को सहज जित निकाल्दा चौथो सेटमा उज्वेकिस्तानले २५-२२ मा नेपाललाई रोक्दै खेल रोमाञ्चकतर्फ धकेलियो । फाइनल सेटमा भने नेपालले १५-११ जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा पनि नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार