संस्कृत पाठशाला सञ्चालनार्थ बिहुँकोट धार्मिक महोत्सव आयोजना गरिँदै

बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा नं. ५ मा रहेको पवित्र धार्मिक तीर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिर (बिहुँ रामकोट) मा धार्मिक महोत्सव हुने भएको छ । यही माघ १ गतेदेखि ७ गतेसम्म बिहुँकोट धार्मिक महोत्सव २०७८आयोजना गर्न लागिएको महोत्सव संयोजक एवं अन्तर्राष्ट्रिय बिहुँकोट समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए ।

बिहुँकोटमा रहेको परमानन्द संस्कृत पाठशाला पुन सञ्चालनार्थ महोत्सवको आयोजना गरिएको र यसको परिकल्पनाकार पनि बिहुँकोट अन्तर्राष्ट्रिय समाज रहेको सुवेदीले जानकारी दिए ।

बह्मलिन स्वामी श्री १००८ परमानन्द सरस्वती महराजले स्थापना गरेको यो पाठशाला सशस्त्र द्वन्दकालमा संस्कृत पाठशाला संचालन गर्न नसक्ने अवस्था आएपछि बन्द गरिएको थियो । यो धार्मिक महोत्सव फरक प्रकृतिको रहने र देशभरबाट पनि बौद्धिक तथा साधुसन्तहरु उल्लेख्य मात्रामा उपस्थित हुने समेत सुवेदी बताए ।

बागलुङ जिल्लाबाट २० किलोमिटर पश्चिममा रहेको यस पवित्र धार्मिक तीर्थस्थल प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । गण्डकी प्रदेशकै सबैभन्दा ठुला शिवलिङ्ग स्थापित यो मन्दिर अहिलेसम्म पनि प्रचारप्रसारमा नआउनु दुर्भाग्य रहेको स्थानीयहरू बताउँछन् । यस मन्दिरमा दैनिक जसो वैदिक विधिद्वारा पुजा अर्चना हुन्छ भने साउन महिनाका सोमबारहरूमा र बालाचतुर्दशीमा सतबिउ छर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने यस मन्दिरमा प्रत्येक वर्ष जेठ महिनाको ११ गते यसको वार्षिकोत्सव तथा रथयात्राको महामेला लाग्दछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार