माओवादीको बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका हुन् ।

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ ।

प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिसकेपछि नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । त्यसपछि ती प्रतिवेदनहरुमा बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।

माओवादीले बन्दसत्र सञ्चालनका लागि ७ जनाको अध्यक्षमण्डल चयन गरेको छ भने कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी र परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् ।

बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार