सधैं स्वस्थ रहन अपनाउनुस् यी उपायहरु

स्वस्थ आहार आफ्नो स्वास्थ्य राम्रो बनाउने चाहना जोकोहीलाई हुन्छ। स्वस्थ शरीरको लागि सबैभन्दा महत्वपूर्ण कुरा स्वस्थ आहार हो। आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा तल दिइएका खानेकुरा खाँदा आफ्नो शरीरलाई निरोगी र स्वस्थ बनाउन सकिने अध्ययनले देखाएको छ।

चिनीको कम सेवन
चिनीजन्य पदार्थको सेवनले शरीरलाई छिटो मोटो बनाउँछ। यसले मधुमेह, मुटुरोगलगायतका अन्य स्वास्थ्य समस्या पनि निम्त्याउँछ। त्यसैले तयारी अवस्थामा रहेका फलफूलका जुस पनि सकेसम्म नखाए नै बेस हुन्छ।

बदाम खाने
बदाममा धेरै चिल्लो पदार्थ भए पनि यो स्वास्थ्यका लागि निकै पोषिलो र स्वास्थ्यवद्र्धक खाना हो। यसमा म्याग्नेसियम, भिटामिन ए र रेसाजन्य पदार्थ हुने भएकाले बदामको नियमित सेवनले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ। अध्ययनका अनुसार यसले तौल घटाउन र मधुमेह तथा मुटु रोगबाट जोगिन पनि मद्दत गर्छ।

जंक फुडबाट टाढै बस्ने
विश्वमै मोटोपना र बिरामी हुनुको मुख्य कारणको रूपमा जंकफुड रहेको छ। यस्ता खानेकुराले हाम्रो दिमागमा नै यस्तो असर पुर्‍याउँछ कि जसका कारणले सधैं अझै बढी खाने इच्छा जागिरहन्छ। कहिलेकाहीँ त ती खानेकुराका अम्मलीसमेत हुने डर हुन्छ।

कफी खानु राम्रो
कफी स्वास्थ्यका लागि निकै राम्रो पेयपदार्थ हो। यसमा धेरै मात्रामा एन्टिअक्सिडेन्ट हुने हुनाले यसले आयुलाई लामो बनाउनुको साथै मधुमेह, पार्किन्सन, अल्जाइमरलगायतका रोगबाट पनि बच्न सहयोग गर्छ।

माछा खाने
साल्मोन जातका माछामा ओमेगा ३ फ्याटी एसिडको मात्रा धेरै हुने हुनाले यो पनि हाम्रो स्वास्थ्यका लागि राम्रो हुन्छ।

खानाअगाडि पानी
पर्याप्त मात्रामा पानी पिउँदा स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ। खाना खानुभन्दा आधा घन्टाअगाडि आधा लिटर पानी पिएमा यसले ४४ प्रतिशत तौल घटाउन सहयोग गर्ने अध्ययनले देखाएको छ।

मासु धेरै नपकाउने
मासुमा धेरै मात्रामा प्रोटिन हुन्छ। तर त्यही मासुलाई आवश्यकभन्दा बढी मात्रामा पकायो वा धेरै भुट्यो वा डढायो भने यसमा हानिकारक तत्व उत्पन्न भई त्यसले क्यान्सरको जोखिम पनि निम्त्याउन सक्छ।

फलफूल र सागपात खाने
हरियो सागपात र फलफूलमा धेरै मात्रामा रेसा, भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्टलगायतका तत्व हुने हुनाले यी कुराको नियमित सेवन गरेमा स्वस्थ रहन सकिन्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार