माओवादी केन्द्रको बन्दसत्र सुरु

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेका लागि तय भएको बन्दसत्र भर्खरै सुरु भएको अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माले जानकारी दिए ।

आइतबारबाट सुरु भएको महाधिवेशनकाे बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । उक्त प्रतिवेदन छलफलपछि पारित गर्ने तयारी छ। माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। ती प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

बन्दसत्रमा कूल एक हजार ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार