गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध आजै अविश्वासको प्रस्ताव

कांग्रेसका नेता कृष्णचन्द्रलाई मुख्यमन्त्री प्रस्ताव

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ । अविश्वासको प्रस्ताव दर्ता गराउँदा मुख्यमन्त्री कसलाई बनाउने त्यो पनि खुलाउनुपर्ने पर्ने व्यवस्था छ । सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सारेको संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिए ।

कांग्रेसको नेतृत्वमा माओवादी र जसपा सरकारमा जाने पक्का भइसकेको छ । आजै बिहान ११ बजेतिरै अविश्वासको प्रस्ताव दर्ता गराउन भेला हुँदैछौं,’ माओवादी वार्ता टोलीका सदस्य रामजी बरालले भने, ‘अविश्वासको प्रस्ताव दर्ता गराइसकेपछि अरु छलफल र निर्णय हुँदै जान्छन् ।’ अविश्वासको प्रस्ताव दर्तासँगै दलहरुले मन्त्रालय र मन्त्रीको बाँडफाँटमा गृहकार्य गर्ने छन् ।

गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन् । जनमोर्चका ३ जना सांसद रहेका छन् । वर्तमान सरकार जोगाउन सरकारलाई जनमोर्चाको समर्थन अनिवार्य रहेको छ । यता, नयाँ सरकार गठन गर्नका लागि एमालेबाहेक अरु सबै दल मिल्नुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार