चार महिनामै लोसपामा विवाद, पार्टी कार्यालय घेराउ गर्न पुगे कार्यकर्ता

गठन भएको चार महिनामै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद उत्पन्न भएको छ । प्रदेश र जिल्लाको नेतृत्व चयन भएसँगै लोसपामा विवाद उत्पन्न भएको हो ।

नेतृत्व चयनको विरोधमा उत्रिएका असन्तुष्ट स्थानीय नेता तथा कार्यकर्ताहरूले आइतबार बबरमहलस्थित लोसपा कार्यालय घेराउ गरेका छन् । धनुषा र महोत्तरीबाट काठमाडौं आएका उनीहरूले पार्टी कार्यालय घेराउ गरेका हुन् ।

नेतृत्वले विधि प्रक्रिया मिचेर प्रदेश र जिल्लामा तदर्थ समिति गठन गरेपछि निर्णय सच्याउन माग राखेर आफूहरू पार्टी कार्यालयमा धर्ना बसेको लोसपा धनुषाका नेता धिरेन्द्रबहादुर सिंहले बताए ।

‘जिल्ला प्रदेशको नेतृत्व मनोनित गर्दा विधि प्रक्रिया मिचिएको छ, विधानको उल्लंघन भएको छ,’ सिंहले भने, ‘निर्णय सच्याउन हामीले नेतृत्वलाई जानकारी गराइसकेका छौं । निर्णय सच्याउन पहल नभएपछि बाध्य भएर धनुषाबाट यहाँ आएर धर्ना बसेका हौं ।’

निर्वाचित समिति नभएका ठाउँमा एक तह माथिको समितिद्वारा मनोनयन वा सम्बन्धित तहको भेलाबाट पार्टीको तदर्थ समिति निर्माण गरिने लोसपाको विधानमा उल्लेख छ । तर, असन्तुष्ट नेताहरू विधानको यो प्रावधानविपरित नेतृत्वले प्रदेश र जिल्लामा नेतृत्व तोकेको आरोप लगाएका छन् ।

पार्टी नेतृत्वबाट प्रदेश र जिल्लाको नेतृत्वसम्बन्धी निर्णय परिर्वतन गर्ने प्रतिबद्धता नआउन्जेल आफूहरू धर्नामा बसिरहने सिंहले बताए । पार्टी कार्यालयमा धर्ना बसिरहे पनि छलफलका अध्यक्ष महन्थ ठाकुरसहित कुनै पनि वरिष्ठ नेता नआएको उनको भनाइ छ ।

अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षमा प्रदेश संसदीय दलका नेतासमेत रहेका जितेन्द्र सोनललाई मनोनित गरेका छन् । सोनल ठाकुरनिकट मानिन्छन् । यसैगरी पार्टीको धनुषा अध्यक्षमा प्रदेश २ लोसपाका प्रमुख सचेतक परमेश्वर साह नियुक्त भएका छन् । साह पनि ठाकुरनिकट हुन् ।

यता प्रदेश र जिल्ला अध्यक्ष बन्ने चाहना पूरा नभएपछि केही व्यक्तिहरू विरोधमा उत्रिएको जसपाका एक नेताले बताए । अध्यक्ष ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी तथा नेता अनिल झाबीचको छलफलपछि जिल्ला र प्रदेशको नेतृत्व तोकिएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार