सुपर दोर्दी ‘ख’ को प्रसारणलाइनको वातावरणीय परीक्षण गरिने

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले विद्युत प्रसारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको छ । असारमा गएको बाढीका कारण प्रसारणलाइनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि परिमार्जित वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।

आगामी असारसम्म निर्माणकार्य सक्ने लक्ष्य लिएको आयोजनाले विद्युत गृहदेखि नेपाल विद्युत प्राधिकरणको कीर्तिपुरस्थित सबस्टेसनसम्म १३२ केभी डबल सर्किट विद्युत प्रसारणलाइन निर्माण सुरु गरेको हो । आयोजनाले करिब २० करोड रुपैयाँ लगानीमा पाँच दशमलव ६ किलोमिटर प्रसारणलाइन निर्माण सुरु गरेको जनाएको छ । प्रसारण लाइनका लागि आवश्यक जग्गा व्यवस्थापनको काम सम्पन्न भइसकेको प्रवद्र्धक सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष इजन बरालले बताए ।

प्रसारणलाइन निर्माणका लागि वातावरणीय प्रभाव परीक्षण गरी २०७५ असोजमा स्वीकृतिसमेत पाई निर्माणकार्य अघि बढाएको थियो । निर्माणका क्रममा आठवटा टावर निर्माण सम्पन्न भए पनि गत असारमा गएको बाढीले चारवटा टावरमा पूर्ण क्षति पुगेको थियो । निर्माण सम्पन्न टावरमा क्षति पुगेपछि पुनः वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।

०७७ असार मसान्तभित्रै व्यावसायिक विद्युत उत्पादन थाल्ने लक्ष्य लिइएको आयोजनाले गत वर्षमा दोर्दी खोलामा आएको बाढी र कोभिड(१९ को प्रभावका कारण निर्माणमा ढिलाइ भएको हो । हाल निर्माण चरणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको र अब अन्तिम चरणका काममात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाले राष्ट्रिय प्रसारणलाइन निर्माण गरेको दोर्दी गाउँपालिका ६ र ७ अन्तर्गत क्षेत्रमा क्षति पुगेपछि पुनर्निर्माणका लागि पुनः वातावरणीय परीक्षण गर्नुपरेको जनाएको छ ।

यसअघि वातावरणीय प्रभाव परीक्षण गरी प्रसारणलाइन निर्माणसमेत सुरु भइसकेको अवस्थामा गत असारमा आएको बाढीका कारण जमिनसहित चारवटा विद्युत टावरमा क्षति पुगेपछि नयाँ जग्गा र त्यसको बारेमा पुनः वातावरणीय प्रभाव परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।

आयोजनाले पुनः वातावरणीय परीक्षणका लागि प्रतिवेदन तयार गर्ने क्रममा त्यस क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक साँस्कृतिक र आर्थिक प्रणालीलगायतमा पर्ने प्रभावका विषयमा लिखित सुझाव माग गरेको छ । प्रभावित क्षेत्रअन्तर्गत विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला सँस्था तथा व्यक्तिसँग लिखित राय सुझाव माग गरेको आयोजना प्रवद्र्धक सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष बरालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार