अन्नपूर्ण केवलकारको सफल परीक्षण, नयाँ वर्षदेखि खुला हुने

पोखरामा निर्माण सकिएको अन्नपूर्ण केवलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केवलकार अंग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केवलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

केवलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ जनाको टोली पोखरा आएको छ । अन्तराष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछिमात्र व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । लोड परीक्षण करिब सकिएको कम्पनीले जनाएको छ ।

२।४ किलोमिटर लम्बाइको केवलकारका १८ वटा टावर छन् भने एउटा सामान बोक्नेसहित १८ वटा गण्डोला राखिएको छ । प्रत्येक डब्बाले ८ जना यात्रु ओसार्न सक्छ । केवलकार सञ्चालनमा आउँदा २५ जना भन्दा बढीले रोजगारी पाउने छन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ ।

केवलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ । केवलकारमा यात्रा गर्दा एकैपटक हिमाल, ताल, हरियो वन र पोखराको मनोरम दृश्य अवलोकन गर्न पाइनेछ । केवलकार निर्माणमा २ अर्बभन्दा बढी खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

केवलकारमा चढ्दा नेपालीहरुले दोहोरो शुल्क ६ सय रुपैयाँ तिर्नुपर्छ भने स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिकलगायतका लागि विशेष छुट दिइने त्रिपाठीले बताए । उनका अनुसार विदेशीले यही केवलकारमा ७ सय र ८ सय रुपैयाँ भाडा तिर्नुपर्छ । एसियन नागरिकलाई ७ सय र अन्य मुलुककालाई ८ सय रुपैयाँ तोकिएको हो ।

४ वर्ष अघिदेखि केवलकार निर्माण सुरु भएको थियो । केवलकारमा युवा व्यवसायी कालु गुरुङसहित नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार