३० वर्षदेखि एकछत्र नेतृत्व, प्रचण्ड पुनः अध्यक्ष बन्दै

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ ।

तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको छ ।

प्रदेश कमिटीको नेतृत्व चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि पार्टीले निर्वाचनमार्फत् नै नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो ।

राष्ट्रिय सम्मेलनलाई माओवादीले नयाँ नेतृत्व चयन, विचार र आगामी भावी कार्यदिशा चयनमा केन्द्रित हुने बताएको छ । सोहीअनुरूप अध्यक्ष प्रचण्डले सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा प्रस्तुत गरिसकेका छन् ।

आगामी नेतृत्व चयनको विषयलाई लिएर माओवादीभित्र बहस शुरू भएको छ । अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरी अध्यक्षमा कुनै पनि नेताले दाबी नगर्ने भएपछि प्रचण्ड पुनः अध्यक्ष हुने पक्का भएको छ ।

२०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बन्नुभएका उहाँ २०५१ सालमा आएर माओवादी बनाएयता हालसम्म अध्यक्षको भूमिकामा रहेका छन् । प्रचण्डकै चाहानामा पार्टी अगाडि बढ्दै आएको छ । पार्टीभित्र एकछत्र राज गर्दै आएका प्रचण्डपछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा धेरै नेताहरूको दौडधुप चलेको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि मोहन वैद्य, डा बाबुराम भट्टराई, रामबहादुर थापालगायतका नेताहरूले साथ छोडेका छन् । प्रचण्डलाई सर्वसम्मतरूपमा अध्यक्ष बनाउने विषयमा पार्टीभित्र विवाद नरहेको नेता हरिबोल गजुरेल बताउँछन् ।

Loading...