यस्तो रहनेछ यो साताको मौसम

यो साता देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साताको सुरुमा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औँल्याएको छ ।

देशको पहाडी भू–भागमा साताको सुरुमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एक/दुई स्थानमा असिनाको समेत सम्भावना छ ।

देशको तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार