अर्थमन्त्री शर्माको रचनामा ‘माओवादी’ गीतिसङ्ग्रह सार्वजनिक

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माको परिकल्पना एवं रचना रहेको गीतिसङ्ग्रह सार्वजनिक भएको छ ।

राष्ट्रिय सम्मेलनको अवसर पारेर ‘माओवादी’ नामक गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो । सो गीतमा गायक किरणबाबु पुन र तिलक परियारले स्वर दिएका छन् । गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको नेतृत्वकर्ता र हिस्सेदार माओवादी नै भएको गीतमा वर्णन गरिएको छ । जनयुद्धको बलमा नै निरंकुश शासन सत्ता अन्त्य भएको तथा देशमा राजनीतिक परिवर्तन भएको विषयलाई गीतमा उल्लेख गरिएको छ ।

नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीका लागि नेकपा (माओवादी केन्द्र)को इतिहास समेटिएको जनवादी गीत ‘माओवादी’ सार्वजनिक गरिएको हो । उक्त गीतको हाल श्रव्य सामग्रीमात्रै सार्वजनिक गरिएको जानकारी दिँदै गायक किरणबाबु पुनले केही समयभित्रै श्रव्यदृश्य सामग्रीसमेत उपलब्ध हुने बताए ।

अर्थमन्त्रीसमेत रहेका नेता शर्माको परिकल्पनामा यसअघि पनि ‘म यात्री हुँ क्रान्तिको यात्री’ बोलको गीत सार्वजनिक भइसकेको छ । गीतमा यो यात्रा हो, हरेस खानु पर्दैन, यो विचार हो, कहिल्यै पनि मर्दैन भन्ने भावलाई समेटिएको गायक पुनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार