काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।  गत एक सातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको विवरणमा एक साताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्री र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्री सेल्सियस रहेको छ ।

अबका दिनमा मौसम फेरबदल भइरहने छ । अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताइन् । “अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ”, उनले भनिन्, “अधिकतम तापक्रम एक/दुई डिग्री सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन” अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ ।

उनका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उच्च पहाडी भेगमा हल्का हिमपात र एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ । महाशाखाको विवरणमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा÷सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार