देउवा भन्छन्- म सबैको सभापति हुँ, सबैको भावना समेटेर हिँड्छु

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सबैको भावनालाई सम्बोधन हुने बताए । सभापति देउवाले भने, ‘‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु ।’

उनले पार्टीले थुप्रै अवरोध र व्यवधानहरूबीच महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको भन्दै अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।

‘हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘तर अहिले हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ, स्थानीयदेखि राष्ट्रिय चुनावसम्म हाम्रो अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्नेछ । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’

उनले कांग्रेसले आफ्नो महाधिवेशनको प्रक्रियामा पार्टीमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार