भारतमा एकैदिन करिब २ लाख संक्रमित भेटिए, एक हजारबढीको मृत्यु

भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा करिब २ लाख जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गत २४ घण्टामा भारतमा १ लाख ९९ हजार ५६९ जना थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै धेरै मध्येमा पर्दछ ।

पछिल्ला केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । यहाँ मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ ।

त्यसैगरी भारतमा गएको २४ घन्टा यता एक हजार ३७ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ । यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७३ हजार १५२ जनाको मृत्यु भएको केन्द्रीय सरकारले जानकारी दिएको छ ।

यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । भारतमा अहिलेसम्म १ करोड ४० लाख ७० हजार ८९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार