वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सकिने जानकारी गराएका हुन् ।

स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने आयोगले बताएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुनेछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएपनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानूनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार