अहिले पनि ढुक्क हुने अवस्था छैन, गणतन्त्रलाई उल्टयाउने षड्यन्त्र जारी छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन् ।

माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच भएको एकतासभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाएका हुन् । “युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्”, उनले भने ।

परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै उनले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन नदिइने बताए ।

“अहिले पनि ढुक्क हुने अवस्था छैन, षडयन्त्र जारी छ”, उनले भने, “जनता र राष्ट्रका पक्षधर, क्रान्तिकारी शक्तिले एकजुट भएर प्रतिवाद गर्न जरुरी छ ।” इमान्दार कम्युनिष्ट बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी आन्दोनलको नेतृत्वको भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवाद स्थापना गर्न आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकताबद्ध भएको बताए । जनपक्षीय शक्ति अलगअलग भएर जनताको अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले जनकाङ्क्षा पूरा गर्न माओवादी विचार र नेतृत्वबाट मात्र सम्भव भएकाले आफूहरु एकता प्रक्रियामा आएको उल्लेख गरे ।

त्यसअघि अध्यक्ष प्रचण्ड र संयोजक लम्सालले दुवै पार्टीबीच एकता सम्पन्न भएको घोषणा गरेका थिए । सम्पर्क केन्द्रको हाल ३९ जिल्लामा सङ्गठन तथा ६ जिल्लामा सम्पर्क कार्यालय रहेको सो अवसरमा संयोजक लम्सालले जानकारी गराएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार