अमेरिकाद्वारा थप ६ लाख ६४ हजार ५६० डोज खोप सहयोग

अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न थप ६ लाख ६४ हजार ५६० फाइजर खोपको मात्रा अनुदान प्रदान गरेको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार उक्त खोप १२ वर्ष र सोभन्दा बढी उमेर समूहका निम्ति उपलब्ध गराइएको हो ।

उनका अनुसार उक्त खोप अहिले टेकुको भण्डारण कक्षमा राखिएको छ । फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ ।

अमेरिकाले नेपाललाई यसअघि नै अनुदानमा दिएका फाइजर खोपका १ एक लाख ६२० मात्रा र एकल–मात्राको जोन्सन एन्ड जोन्सन खोपका १५ लाख ३५ हजार खोप सहयोग गरेको थियो ।

सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ, लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताएको छ । सरकारले बालबालिकालाई विद्यालयमा केन्द्र राखेर खोप दिने योजना बनाएको छ ।

त्यसैगरी बालबालिका लागि सरकारले थप ६० लाख ९०० डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य मन्त्रायले पुस ३ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ ।

Loading...