भलिबल प्रशिक्षक भट्ट भन्छन्- शान्ति र सुनिताको प्रदर्शनले खेल जित्यौं

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको बताएका छन् ।

बिहीबार बंगलादेशकाे राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २-० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो । ‘श्रीलंकालाई जित्नै पर्ने दबाब थियो । किनकी पहिलो खेल जित्दै मनोबल उच्च बनाउने अवसरका रुपमा यो खेल थियो । दक्षिण एसियाली खेलकुदमा पनि श्रीलंकालाई पराजित गरेकाले नेपाललाई जित्नु पर्ने दबाब थियो ।’ मुख्य प्रशिक्षक भट्टले भने ।

साविक विजेता नेपालले सुरुवाती दुई सेट १९-२५ र २१-२५ ले श्रीलंकालाई बुझाएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालका लागि तेस्रो सेटमा शान्ति थारू र सुनिता खड्काले बहादुरी प्रदर्शन गरेपछि त्यसपछिका तीन सेट नेपालले आफ्नो पक्षमा पार्‍याे ।

तेस्रो सेट नेपालले २५-१५ जित्यो । चौथो सेट समेत २५-१९ले जित्दा पाँचौ तथा निर्णायक सेट १५-१३ ले जितेको थियो । ‘शान्ति र सुनिताको प्रदर्शनले सबै खेलाडीमा उत्साह जगायो । र हामी पुनः खेलमा फर्कियौं  र हामी पाँचौ सेटमा गएर प्रतियाेगितामा पहिलो खेल जित्न सफल भर्याै,’ ढाकाबाट भट्टले भने ।

यस्तै, भट्टले खेलाडीले नियमित खेलको २० प्रतिशत पनि खेल्न नसकेको र नेपालको सर्भिस, स्पाइक, ब्लक कुनै पनि पोजिसन सन्तोषजनक नरहेको बताए । ‘खेलाडीहरूले सुरुवाति दुई सेट निकै दबाबमा खेले । जुन हाम्रो नियमित खेलको २० प्रतिशत पनि होइन । जसले गर्दा सुरुको दुई सेट गुमाउनु पर्योे । म खेलबाट सन्तुष्ट छैन । हाम्रो सर्भिस, स्पाइक, ब्लक कुनै पनि सन्तोषजनक छैन ।’ गतबर्ष नेपाललाई पहिलो पटक एभीसी सेन्ट्रल जोनको उपाधि दिलाएका प्रशिक्षक भट्टले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार