कांग्रेसको प्रदेश २ को अधिवेशनमा कार्यकर्ताबीच कुटाकुट

भोलि बिहान ८ बजे मतदान हुने

नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ ।

सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज यादवका समर्थकबीच मतदान बुधबार गर्ने कि बिहीबार गर्ने भन्ने विषयमा विवाद हुँदा पक्षबीच कुटाकुट भएको हो । कृष्ण पक्षधरले बुधबार नै मतदान गर्ने भने पनि रामसरोज पक्षधरले बिहीबार गर्ने बताएपछि विवाद भएको हो । यसै विषयलाई लिएर सिजर्ना भएको झडपमा दुवै पक्षका कार्यकर्ताबीच मुक्का हानाहानसमेत भएको बताइएको छ ।

सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

दुई पक्षबीच कुटाकुट भएपछि बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ । अब बिहीबार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले जानकारी दिए ।

७२ सदस्य प्रदेश समितिको लागि १७४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको हो । ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभापतिका लागि देउवा समुहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् ।

दुई उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव र निधी–कोइराला समूहबाट धनलाल ठोकर र विनोदकुमार खनालले उम्मेदवारी दिएका हुन् । रामाधार प्रासद यादव भने स्वतन्त्र रूपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

दुई महामन्त्रीका लागि पनि पाँच जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो र देउवा समूहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका हुन् । विनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधी–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ एक सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादव र निधि–कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएकी छिन् । त्यस्तै सहमहमन्त्री खुलाबाट दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार