तीव्र रुपमा पग्लिँदै हिमालयका हिमनदी

हिमालय क्षेत्रका हिमनदी (ग्लेसियर) विगत सात सताब्दीको तुलनामा पछिल्ला ४० वर्षमा १० गुणा बढी पग्लेको एक वैज्ञानिक अध्ययनले देखाएको छ । साइन्टिफिक रिपोट्र्स नामक जर्नलमा सोमबार प्रकाशित एक प्रतिवेदनअनुसार हिमपहिरो, बाढी तथा तीव्र गतिमा हिउँ पग्लिँदा नेपाल, भारत र भुटानका बासिन्दालाई खतरा बढेको छ। कृषिमा आधारित लाखौं दक्षिण एसियाली जोखिममा छन् ।

अनुसन्धानकर्ताका अनुसार हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण समुद्रको सतह बढ्ने,तल्लो तटमा डुबानको समस्या पर्ने तथा समुद्र किनारमा रहेका समुदायलाई चुनौती थपिने देखिएको छ । ‘दक्षिण एसिया क्षेत्रले यसअघि कल्पना गरेभन्दा अत्यन्त तीव्र हिसाबमा प्रभावित देखिएको छ,’ अध्ययनका सहलेखक युनिभर्सिटी अफ लिड्सका हिमनदी विज्ञ जोनाथन क्यारिभिकले भने, ‘हिमालयमा देखिएको यो परिवर्तन अन्यन्त छिटो गतिमा देखिएको छ ।’

वैज्ञानिकले धेरै पहिलादेखि न्युजिल्यान्ड, ग्रिनल्यान्ड, पाटागोनियालगायत विश्वका अन्य भूभागका ठूला हिमनदीमा हिउँ घट्ने क्रमको अध्ययन गर्दै आएका छन् । तर हिमालय क्षेत्रमा हिउँ घट्ने क्रम अत्यन्त तीव्र रहेको नयाँ अध्ययनले देखाएको छ ।

यो परिवर्तन ठ्याक्कै के कारणले भएको हो भन्नेमा अनुसन्धानकर्ताले यकिन गरेका छैनन् तर दक्षिण एसियामा मनसुनमा आएको परिवर्तनले यसो भएको हुन सक्ने अनुमान उनीहरूको छ । खनिज इन्धन बाल्दा हुने हरित गृह ग्यास उत्सर्जनका कारण हिमनदी तथा तालमा हिउँ पग्लने गरेको वैज्ञानिक मान्यता रहेको सन्दर्भमा नयाँ अध्ययनको नतिजा सार्वजनिक भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Loading...