महिलालाई दुर्व्यवहार गर्ने पुजारी र धामी पक्राउ

महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

“पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन”, उनले भने । ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ फेसबुकमा सार्वजनिक भएको एक भिडियोमा केही पुरुषले आफूलाई ‘भगवानको अवतार’का रुपमा प्रस्तुत गर्दै एक महिलामाथि कुटपिट र  दुर्व्यवहार गरेका थिए । पाँच मिनेट १८ सेकेन्डको उक्त भिडियोमा ती महिला काँपिरहेको देखिन्छ । उनलाई ‘नराम्रो आत्माबाट’ बचाएको भन्दै पुरुषहरुले कुटपिट र दुव्र्यवहार गरेका छन् ।

Loading...