बढ्न थाल्यो शीतलहर

चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए ।

अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी समस्या बढ्दैछ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन । त्यसले पनि सुक्खा चिसोलाई बढाएको छ ।

शीतलहरबाट स्थानीय जनजीवनमा परेको असर कम गर्न सरकारले शीतलहरविरुद्धको प्रतिकार्य योजना कार्यान्वयनका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकार्य योजना प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कार्यान्वयनका लागि सिफारिस गरेको हो ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले शीतलहर चलेका स्थानमा राहत तथा उद्धार गर्नेबारे मापदण्ड बनाएर काम गरिने बताए । प्राधिकरण आफैँले पनि शीतलहरका बेला सचेतनामूलक कार्यक्रम तथा रेडियो कार्यक्रम सञ्चालन गरिरहेको छ । शीतलहरबाट स्थानीय समुदायलाई जोगाउनका लागि दाउरा तथा न्यानो कपडा वितरण गर्ने तयारी थालिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार