सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

एमालेले विरोध जारी राख्ने

प्रतिनिधि सभाको १०औँ अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । संसद बैठक मंगलबार दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ ।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पूर्ववत् विरोधका कार्यक्रमहरू कायमै रहेको बताए ।

एमालेले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार