कांग्रेस महाधिवेशनमा चार प्रतिशतसम्म मत बदर, दुई प्रतिशतले मतदानै गरेनन्

प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिले गरेको मतदान चार प्रतिशतसम्म बदर भएको पाइएको छ । कांग्रेस केन्द्रीय समितिले दिएको रिपोर्टअनुसार करिब साढे दुई प्रतिशत जतिले त मतदान नै गरेका छैनन् ।

केन्द्रीय कार्यसमिति चयन गर्न आउने महाधिवेशन प्रतिनिधिलाई जिल्ला तहका नेताभन्दा माथिल्लो दर्जाका रूपमा हेरिन्छ । वडा तहको अधिवेशनदेखि क्षेत्रीय तहको अधिवेशनबाट समेत निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधि बनाउन केन्द्रका शीर्ष नेताहरुले समेत शक्ति प्रयोग गर्ने भएकाले पनि थाहा हुन्छ कि उनीहरु परिपक्व नेता हुन् भनेर ।

कतिपय महाधिवेशन प्रतिनिधिहरु त आफ्नो निर्वाचन क्षेत्रका झन्डै दुई हजार क्षेत्रीय प्रतिनिधिबाट चुनिएर आएका थिए । महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय प्रतिनिधिहरु पनि आ–आफ्नो वडाबाट ठूलो मिहिनेतका साथ निर्वाचित भएर आएका हुन्छन् ।

कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ जनाको मतपरिणाम सार्वजनिक गर्ने क्रममा करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ । कुल खसेको ४ हजार ७ सय ५ मतमध्ये १ सय ८१ मत बदर भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा ७६ र दोस्रो चरणमा भएको निर्वाचनमा ३५ मत बदर भएको छ ।

कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार ६ सय २३ जनाले मात्र मतदान गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार