ओलीको राजनीति जोगाउन ठूलो डिजाइन र षड्यन्त्र भएकाे प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन र षड्यन्त्र भएको बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए ओली पार्टीविहीन हुने बताएका हुन् ।

‘निर्वाचन आयोगले कानूनअनुसार निर्णय लिएको भए केपी ओली पार्टीविहीन, चुनावचिन्हविहीन एउटा बबुरो नेता बन्नुहुने थियो । उहाँले अर्को पार्टी दर्ता गरेर चुनाव चिन्ह पनि अर्कै बनाइसक्नुभएको थियो ।’ उनले भने, ‘तर, ठूलो षड्यन्त्र र सेटिङमार्फत उहाँलाई बचाइयो ।’ प्रचण्डले कसले कोसँग कस्तो सेटिङ गरेको हो भन्नेबारेमा केही खुलाएनन् ।

साथै, अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको समेत बताएका छन् । ‘एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ,’ प्रचण्डले भने । तर, कुनै पनि हालतमा गठबन्धन टुटाउने पक्षमा नरहेको उनको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार