कांग्रेसमा खुला केन्द्रीय सदस्यतर्फ महिला शून्य

 नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ । खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन् । खुलामा कांग्रेस केन्द्रीय सदस्य बन्न ९९ जनाले दिएकाे उम्मेदवारीमा सबै पुरूष थिए ।

खुलामा सबै पुरूषले जिते पनि कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित छ । त्यसका लागि विभिन्न क्लस्टरमा महिलाको सहभागिता सुनिश्चित गरिएको छ । खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य हुन्छन् । ९ जनाका लागि ३० जना उम्मेदवार छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा पनि खुला महिलातर्फ उम्मेदवार बनेकी छन् ।

हरेक प्रदेशमा पनि महिलाको सहभागिता निश्चित गरिएको छ । हरेक प्रदेशबाट १ जना महिलाका दरले सात प्रदेशबाट ७ जना महिला केन्द्रीय समितिमा आउँछन् । क्लस्टरअनुसार  दलिततर्फ ४, आदिवासी/जनजातितर्फ ७, खसआर्यतर्फ ६, मधेसीतर्फ ४, मुस्लिमतर्फ १, थारूतर्फ २ जना महिला केन्द्रीय सदस्य हुन्छन् ।

कांग्रेसमा १२१ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुन्छन् । तीमध्ये  ४० जना महिला हुन्छन् । अर्थात् ३३ प्रतिशतभन्दा बढी महिला निर्वाचन जितेर कांग्रेस केन्द्रीय समितिमा आउँछन् । कांग्रेस विधानले ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था गरेको छ । मनोनित गर्दा पनि समावेशी सिद्धान्तअनुसार गर्नुपर्छ। ३३ जना मनोनित गर्दा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्छ।

कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा महिलाको सहभागी निकै कम छ । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बाहेक अरू सबै पदाधिकारी पुरूष छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार