प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

संसद्को अवरोध र एमसीसीबारे छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आइतबार अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। संघीय संसद्मा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुनेछ । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी , जनता समाजवादी पार्टी , लोकतान्त्रिक समाजवादी पार्टी , राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ।

भदौ २२ गतेदेखि प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । एमालले गत भदौ १ गते माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो।

उक्त सूचना अनुसार सांसदलाई कारबाहीको सूचना सभामुख अग्नि सापकोटाले प्रकाशित गरेका थिएनन्। त्यसबीच दल विभाजनसम्बन्धी अध्यादेश अनुसार माधव नेपाल सहितका सांसद सहभागि भएर नयाँ दल गठनभएपछि सभामुख सापकोटाले सूचना प्रकाशन नगर्ने निर्णय गरेका थिए।

एमालेले साउन २५ गतेको पार्टी निर्णयबाट उनीहरु कारवाहीमा परेको उल्लेख गरेको छ। एमालेको दलका नेता ओलीले आफूहरूले कारबाही गरेका ती सांसद आजको बैठकमा प्रवेश गरे ती गैरसांसद हुने उल्लेख गर्दै उनीहरूको उपस्थितिमा संसद बैठक सञ्चालन हुन नसक्ने बताउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार