नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन्।
शेरबहादुर देउवा समूहकी उपाध्याय २५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा विजयी भएकी हुन्। उनकी निकटतम् प्रतिस्पर्धी कमला पन्तले २१०५ मत ल्याइन्। पन्त शेखर कोइराला समूहकी हुन्।
सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।