नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार महिलातर्फ महालक्ष्मी उपाध्याय डीना, दलिततर्फ मानबहादुर विश्वकर्मा र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे अगाडि देखिएका छन् ।
३ हजार मत गन्दा उपाध्यायले १ हजार ६५२ र प्रतिस्पर्धी कमला पन्तले १ हजार ३२६ मत प्राप्त गरेका छन् ।
यस्तै दलिततर्फ १ हजार ७८० मतगणना हुँदा विश्वकर्मा ८३९, जीवन परियार ८३१ र गंगा सुनुवारले ७० मत पाएका छन् ।
आदिवासीतर्फ ३ हजार ७३ मत गणनामा भीष्मराज आङ्देम्बे १७८० र विकास लामाले १२४८ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।