रक्षामन्त्री मीनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् ।
नेपाली कांग्रेसको महामन्त्रीमा पराजीत भएपछि रिजालले राजीनामा दिएका हुन् । यसअघि रक्षामन्त्री रिजालले राजीनामा दिने घोषणा गरेका थिए । उनले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् ।
शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए । रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।